मृगौलाको दीर्घरोग पूर्णतया निको हुँदैन तर त्यसको उपचार गरिएन भने त्यो अन्तिम अवस्थाको मृगौला रोगमा (इन्ड स्टेज किड्नी फेल्योर) परिणत हुन्छ । मृगौलाको दीर्घरोग भएका व्यक्तिमा रोगको कुनै लक्षण नदेखिन पनि सक्छ । तर मृगौला रोगको निदान चाँडै गर्न सकियो भने उपयुक्त चिकित्सा उपचार गर्न सकिन्छ र मृगाौला बिफल हुनबाट जोगाउन अथवा मृगौला बिफल हुने प्रकृयालाई मन्द गर्न सकिन्छ । तसर्थ, मृगौलाको समस्या छ भन्ने शंका मात्र लाग्यो भने पनि तुरुन्त उपचारमा जान र चाँडो निदान गर्न सुझाव दिइन्छ कसले मृगौलाको परीक्षण गराउनु पर्छ ? मृगौलाको समस्याको उच्च जोखिममा को छ ? जोसुकैलाई मृगौलाको समस्या हुन सक्छ तर देहायका अवस्थाहरूमा जोखिम बढी हुन्छ : मृगौला रोगका लक्षणहरू मधुमेह उच्च रक्तचाप मृगौला रोग, मधुमेह र उच्च रक्तचापको पारिवारिक पृष्ठभूमि भएमा लामो समयसम्म सुर्ती, खैनी खाएको भए, मोटोपना वा बुढेसकाल (६० वर्षमाथि) दुखाइ कमगर्ने औषधी बढी लिनेमा जथाभावी औषधी खाने मानिसहरूमा (विशेष गरेर केही एन्टिबायोटिक) हर्वल मेडिसिन सेवन गर्ने मानिसहरूमा मुत्रनली सम्बन्धी जन्मँदै समस्या भएमा मृगौलाका समस्याको निदान कसरी गर्ने? सामान्यतया कुन परीक्षण गरिन्छ? मृगौलाको समस्या पत्ता लगाउन प्राय गरिने उपयोगी परीक्षणहरूमा पिसाब परीक्षण, रगत परीक्षण र रेडियोलोजिकल (पेटको भिडियो एक्सरे) जस्ता परीक्षणहरू पर्दछन् । पिसाब परीक्षण पिसाबको नियमित परीक्षण विभिन्न प्रकारका मृगौला रोगको निदानका लागि पिसाबको विभिन्न परीक्षण उपयोगी हुन्छ । यो एकदमै सरल, सस्तो र धेरै उपयोगी परीक्षण हो । विभिन्न मृगौला रोगमा पिसाबमा एल्बुमिन या प्रोटिन देखिन्छ । यसलाई कहिल्यै बेवास्ता गर्नु हुँदैन । पिसाबमा प्रोटिन देखिनु मृगौलाको दीर्घरोगको पहिलो, प्रारम्भिक र एकमात्र संकेत हुन सक्छ । उदाहरणको लागि, पिसाबमा एल्बुमिन देखिनु मधुमेहबाट हुने मृगौला रोगको पहिलो संकेत हो । साथै यसले, मुटु रोगको जोखिम बढी भएको पनि संकेत गर्दछ । पिसाबमा पिप देखिनुले मुत्रनली संक्रमणको संकेत गर्न सक्छ । प्रोटिन र रातो रक्तकोषको उपस्थितिले जलनशील मृगौला रोग (उदाहरणः ग्लोमेरुलोनेफ्राइटिस) भएको संकेत गर्न सक्छ । माइक्रोएल्बुमिनुरिया माइक्रोएल्बुमिनुरिया भन्नाले पिसाबमा अत्यन्त कम मात्रामा प्रोटिन (एल्बुमिन) हुनु हो । यो परीक्षणबाट मधुमेहले गर्दा मृगौला विफल हुन सक्ने पहिलो र प्रारम्भिक संकेत हो । यस चरणमा सही उपचार भएमा रोग निको हुन सक्छ । पिसाबका अन्य परीक्षण निम्न छन्ः पिसाबमा प्रोटिनको सटिक मात्रा थाहा पाउन २४ घण्टे पिसाब परीक्षण, पिसाबमा क्षयरोगका जीवाणुको परीक्षण (मुत्रनलीको क्षयरोगको निदानका लागि), पिसाबमा हुने संक्रमणका लागि जिम्मेवार जीवाणुको निदान र त्यसको उपचारका लागि आवश्यक पर्ने औषधीबारे जानकारी लिन गरिने पिसाबको कल्चर र सेन्सिटिभिटी परीक्षण । रक्त परीक्षणहरू विभिन्न मृगौला रोगको सही निदानका लागि विभिन्न रक्त परीक्षण आवश्यक हुन्छ ः क्रिएटिनिन र युरिया रगतमा क्रिएटिनिन र युरियाको मात्राले मृगौलाले कति काम गरेको छ भन्ने थाहा हुन्छ । क्रिएटिनिन र युरियाहरू सामान्यतया मृगौला मार्फत रगतबाट बाहिर निस्कने दुईवटा पदार्थ हुन् । मृगौलाले कम काम गर्न थाल्यो भने रगतमा क्रिएटिनिन र युरियाको मात्रा बढ्छ । रगतमा क्रिएटिनिनको सामान्य मात्रा ०.९ देखि १.४ मिलिग्राम प्रति डेसिलिटर हुन्छ भने रगतमा युरियाको सामान्य मात्रा २० देखि ४० मिलिग्राम प्रति डेसिलिटर हुन्छ । त्यो भन्दा बढी देखिएमा मृगौलामा क्षति भएको भन्ने बुझिन्छ । युरियाको तुलनामा क्रिएटिनिनको मात्राले मृगौलाले काम गरे नगरेको बढी भरपर्दो रुपमा मार्गदर्शन गर्छ । हामीले यँहा के पनि याद राख्नु पर्छ भने, मृगौलाको कार्य क्षमता ५०% कम भई सक्दा मात्रै रगतमा क्रियटिनिनको मात्रा बढ्न थाल्छ । रगतमा क्रियटिनिनको मात्राबाट मृगौलाको शुद्घिकरण दर (इ.जी.एफ.आर.) थाहा पाउन सकिन्छ । इ.जी.एफ.आर. मृगौलाको कार्य क्षमता पत्ता लाउने भरपर्दो परीक्षण हो हेमोग्लोबिन स्वस्थ मृगौलाले हेमोग्लोबिन रहने रातो रक्तकोषको उत्पादनमा मद्दत गर्छ । हेमोग्लोबिन कम भयो भने त्यसलाई रक्तअल्पता भनिन्छ । रक्तअल्पता मृगौलाको दीर्घरोगको एउटा महत्वपूर्ण संकेत हो । तर रक्तअल्पता अन्य खाले बिरामीहरूमा पनि हुन्छ । अन्य रक्त परीक्षणहरू मृगौलाका बिरामीहरूमा गरिने विभिन्न रक्त परीक्षणहरूमा, रगतमा चिनीको मात्रा, रगतको एल्बुमिन, कोलेस्टेरोल, इलेक्ट्रोलाइट्स, क्याल्सियम, फोसफोरस, बाइकार्बोनेट, युरिक एसिड, रगतको अम्लपन आदि पर्दछन् । रेडियोलोजिकल परीक्षण मृगौलाको अल्ट्रासाउन्ड यो परीक्षण सजिलोसँग, सुरक्षित र चाँडो हुन्छ । यसबाट मृगौलाको आकार, संरचना र अवस्थिति, मुत्रनलीमा भएको अवरोध, पत्थरी वा कुनै फोका भए नभएको जस्ता जानकारी प्राप्त हुन्छ । खासगरी मृगौलाका दीर्घरोगीहरूलाई अल्ट्रासाउन्डबाट दुईवटै मृगौलाको अवस्था थाहा पाउन मद्दत गर्दछ । कतिपय मृगौला रोगमा मृगौला सानो भएको पनि पाईन्छ । पेटको एक्सरे मुत्रप्रणाली वा मुत्रवाहिनी नलीमा पत्थरीको निदान गर्न पेटको एक्सरे गरिन्छ । इन्ट्राभेनस युरोग्राफी (आइ.भी.यु.) यो एक प्रकारको विशिष्ट एक्सरे परीक्षण हो । यस परीक्षणमा नसाबाट एक प्रकारको औषधी (रेडियो कन्ट्रास्ट एजेन्ट) दिइन्छ । यस परीक्षणबाट पत्थरी, अवरोध, फोका र मृगौलाको संरचना र काम सम्बन्धी असामान्यपनको समस्या थाहा हुन्छ । रेडियो कन्ट्रास्ट इन्जेक्सनले खराब मृगौलालाई अझ बढी क्षति पु¥याउँन सक्छ । त्यसैले मृगौलाले काम नगर्ने समस्या भएका बिरामीहरूलाई यो परीक्षण हानिकारक हुन सक्छ । इन्ट्राभेनस युरोग्राफी एक्सरे परीक्षण भएकाले गर्भावस्थामा रहेको शिशुलाई हानिकारक हुन सक्छ । त्यसैले गर्भवती महिलालाई यो परीक्षण गर्नु हुँदैन भ्वाइडिङ सिस्टोयुरेथ्रोग्राम भ्वाइडिङ सिस्टोयुरेथ्रोग्राम वा भी.सी.यु.जी. (पहिले माइक्टुरेटिङ सिस्टोयुरेथ्रोग्राम वा एम.सी.यु. भनेर चिनिने) भनेको मुत्रप्रणालीमा संक्रमण भएका र भेसिकौरेटेरल रिफ्लक्स भएका बालबालिकाहरूका लागि एउटा अत्यन्त महत्वपूर्ण निदानात्मक एक्सरे हो । अन्य रेडियोलोजिकल परीक्षण केही खास मृगौला रोगको निदानका लागि सी.टी. स्क्यान, रेनल डोप्लर, रेडियोन्युक्लियर अध्ययन, रेनल एन्जियोग्राफी र रेट्रोग्रेड पाइलोग्राफी आदि उपयोगी हुन सक्छन् । अन्य विशेष परीक्षण मृगौलाको बायोप्सी, सिस्टोकोपी र युरोडाइनामिक्स जस्ता विशेष परीक्षणहरू खास मृगौलाका समस्यामा रोग निदानका लागि आवश्यक हुन्छन् । कहिले काहीँ मृगौलाको कार्य क्षमता थाहा पाउन न्युक्लियर स्टडि पनि गर्नु पर्ने हुन्छ । मृगौलाको बायोप्सी केही खास मृगौलाका रोगहरूको निदानका लागि मृगौलाको बायोप्सी एउटा महत्वपूर्ण परीक्षण हो । मृगौलाको बायोप्सी के हो ? मृगौलाको बायोप्सी गर्दा सियो छिराएर मृगौलाको तन्तुको एउटा सानो टुक्रा झिकिन्छ र त्यसलाई माइक्रोस्कोपबाट परीक्षण गरिन्छ । केही खास मृगौला रोगको वास्तविकता निदान गर्न मृगौलाको बायोप्सी गरिन्छ । मृगौलाको बायोप्सी कहिले गर्ने? केही खास मृगौला रोगहरूमा शारीरिक परीक्षण र सामान्य परीक्षणहरूबाट रोगको सही निदान गर्न सकिदैन । त्यस्ता बिरामीहरूलाई मृगौलाको बायोप्सीले थप जानकारी प्राप्त गर्न सहयोग गर्छ जसले सही निदान पनि गर्छ । मृगौलाको बायोप्सीले कसरी मद्दत गर्छ ? मृगौलाको बायोप्सीले केही खास मृगौला रोगको निदान गर्छ । यसबाट प्राप्त जानकारीले चिकित्सकले प्रभावकारी उपचार योजना बनाउन र बिरामी र तिनका परिवारलाई रोगकोबारे जानकारी दिन मद्दत गर्छ । मृगौलाको बायोप्सी कुन प्रविधिबाट गरिन्छ ? सबैभन्दा सामान्य विधि भनेको सुई बायोप्सी हो जसमा खोक्रो सुइलाई छालाबाट छिराएर मृगौलासम्म पु¥याइन्छ । अर्को कम प्रयोग हुने विधि भनेको खुला बायोप्सी हो, जसको लागि शल्यक्रिया नै गर्नुपर्छ । मृगौलाको बायोप्सी कसरी गरिन्छ ? बिरामीलाई अस्पताल भर्ना गरिन्छ र उसको मन्जुरी लिइन्छ । बायोप्सी गर्नु अघि रक्तचाप र रगत जम्ने प्रक्रिया सामान्य अवस्थामा छन् कि छैनन् भनेर जाँचिन्छ र यदि रगत पातलो गर्ने औषधी सेवन गरिरहेको छ भने बायोप्सी भन्दा कम्तीमा १–२ साता अघि त्यस्ता औषधीहरू नखाने सल्लाह दिइन्छ । मृगौलाको अवस्थिति थाहा पाउन र बायोप्सी गर्ने ठाउँ थाहा पाउन अल्ट्रासाउन्ड वा सीटी स्क्यान गरिन्छ । बिरामीलाई घोप्टो पारेर पेटमुनी तकिया वा तौलिया राखेर सुत्न लगाइन्छ । यो प्रक्रिया बिरामी बेहोस नपारिकनै गरिन्छ । साना बालबालिकामा भने सामान्य एनेस्थेसियाको प्रयोग गरि बेहोस बनाएर गरिन्छ । छालालाई राम्रो सँग सफा गरेपछि दुखाइ कम गर्न लोकल एनेस्थेसिया दिएर बायोप्सी गर्ने ठाउँको छाला लट्टाइन्छ । खोक्रो बायोप्सी सुइ प्रयोग गरी २ वा ३ वटा साना कपाल जस्ता टुक्राहरू मृगौलाबाट झिकिन्छ । त्यसपछि तिनलाई परीक्षणका लागि पठाइन्छ । बायोप्सी पछि रगत बग्न नदिन बायोप्सी गरेको ठाउँमा ब्यान्डेज बाँधिन्छ । बिरामीलाई ६ देखि १२ घण्टासम्म पूर्णतया आराम गर्न लगाइन्छ र सामान्यतया अर्को दिन मात्र अस्पतालबाट बिदा गरिन्छ । बिरामीहरूलाई बायोप्सी गरेको कम्तीमा २ देखि ४ साता पछि सम्म कडा परिश्रम वा शारीरिक व्यायाम नगर्न सुझाव दिइन्छ मृगौलाको बायोप्सी गर्दा कुनै खतरा छ कि छैन ? अरु कुनै पनि शल्यक्रिया जस्तै केही बिरामीहरूमा मृगौलाको बायोप्सी पछि पनि केही जटिलताहरू देखिन सक्छ । बायोप्सी गरेको ठाउँमा सामान्य दुख्ने वा असहज हुने तथा रातो पिसाब हुनु असामान्य होइन र यो आफैँ रोकिन्छ । पिसाबबाट धेरै रगत गएमा रगत चढाउनु पर्ने हुन सक्छ । स्रोत : Kidney Education Foundation